इटहरी : इटहरी उपमहानगरपालिकाको नगर बस दुर्घटनामा परेको तीन साता हुँदा समेत मर्मत हुन सकेको छैन । म्याजीक भ्यानले ठक्कर दिएर चालक सिट तर्फको सिसा र लुकिङ ग्लास फुटेपछि बस कार्यालय परिसरमै थन्किएको हो ।

१ करोड ५९ लाख २१ हजारमा खरिद भएको उक्त बस इटहरीको बजारलाई गाउँसम्म जोड्ने नीतिका साथ खरिद गरिएको छ । मर्मतको सामान पाउनै मुस्किल भएपछि कहिले देखि गाडी सञ्चालनमा आउने बारे यकिन भएको छैन ।

असोज २५ गते पश्चिम लाइनको कान्छी चोकबाट पटेरुवा जाँदै गरेको प्रदेश १-०२-००१ क ५३४२ नम्बरको बस दुर्घटनामा परेको हो ।

पकलीमा रोकी राखेको बसलाई सामान बोक्ने भ्यानले ठक्कर दिएको थियो । बस दुर्घटना पछि इलाका प्रहरी कार्यालय पकलीमा म्याजीकका चालक विक्रम ठाकुर विरुद्ध बस चालक धन बहादुर नेवारले उजुरी दिएका थिए । प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाएर गाडी मर्मतको जिम्मा सवारी धनीले लिने गरी मिलापत्र गराएको हो ।

सवारी धनी गौतम प्रसाद चौधरीले सिसा फेर्ने जिम्मा लिए पनि तत्काल नभेटिएकाले समय लागेको बताए । भैरहवामा गाडीमै जडान भएको गुणस्तरको सिसा पाइने भएपछि सोही अनुसार अगाडी बढ्ने तयारी भएको जानकारी दिए । इटहरीको गोर्खा आल्मुनीयम सँगको समन्वयमा सिसा नाप्ने र ल्याउने काम सुरु भएको उनको भनाइ छ ।