धरान : धरानमा रहेका संस्थागत (निजी) विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरूको जोश र उत्साह बढाउने उद्देश्यले प्याब्सन धरान र एन प्याब्सन धरानको संयुक्त आयोजनामा ट्र्याक एण्ड फिल्ड प्रतियोगिता हुने भएको छ।

विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगिता पौष १० गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने कार्यक्रम संयोजक राजेन्द्र गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएका हुन्।

संयोजक गुरुङले धरान खेलकुदको सहर भनेर चिनिए पनि एथलेटिक्सका लागि आवश्यक खेलमैदानको अभाव रहेको बताए। उनले भने“‘एथलेटिक्स खेल खेल्न कम्तीमा २०० मिटरको ट्र्याक आवश्यक पर्छ,तर धरानमा छैन।’ रङ्गशाला पनि एथलेटिक्सका लागि पूर्ण रूपमा उपयुक्त छैन, तर बाध्यतावश यहीँ प्रतियोगिता आयोजना गर्नुपरेको छ ।”

उनले प्रतियोगिता मूलत ३ दिनको भए पनि २ दिनमै सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताए । प्रतियोगितामा प्रत्येक विद्यालयबाट ३२ जना विद्यार्थी मात्र सहभागी हुन पाउनेछन्। एक विद्यार्थीले अधिकतम २ वटा खेलमा मात्र भाग लिन सक्ने व्यवस्था गरिएको छ।

१०० मिटर दौडमा सहभागी विद्यार्थीले २०० मिटर दौडमा भाग लिन पाउने छैनन्। उनीहरूले केवल १००×४ रिले, लङ जम्प वा शटपुट थ्रो मध्ये छनोट गर्नु पर्नेछ।प्रतियोगितामा संस्थागत विद्यालयका विद्यार्थीहरू मात्र सहभागी हुन पाउनेछन्। प्रत्येक विद्यालयले ३ हजार रुपैयाँ सहभागिता शुल्क तिर्नुपर्नेछ।

प्रतियोगितामा ट्र्याक इभेन्ट अन्तर्गत १०० मिटर दौड, २०० मिटर दौड, १००×४ रिले तथा फिल्ड इभेन्ट अन्तर्गत लङ जम्प र शटपुट थ्रो सञ्चालन गरिनेछ। हरेक इभेन्टमा ४ जना छात्र र ४ जना छात्रा मात्र सहभागी हुन पाउनेछन्।

विजयी खेलाडीलाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ भने कुल अङ्कका आधारमा उत्कृष्ट विद्यालय घोषणा गरिनेछ। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, आत्मविश्वास, अनुशासन र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतियोगिता पौष १० गते बिहान ८ बजे सुरु भई ११ गते दिउँसो ४ बजे समापन हुनेछ।