धरान : धरान-१४ विजयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान-१४ का ३४ वर्षीय रमेश परियार, धरान-१० का ४० वर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका-६ का २० वर्षीय खुर्सित अन्सारी र २३ वर्षीय अक्ताक अन्सारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १ सय २१ मिलिग्राम ब्राउन सुगर, ४ बोतल डाईलक्स डिसी र नाईट्रोसन २० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।