वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगितामाको उपाधिका लागि वडा नं १ र ३ भिड्ने भएका छन् ।

आइतबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा वडा नं.१ विजयी हुँदै फाइनलको यात्रा तय गरेको हो । वडा नं १ ले वडा नं २ लाई टाइब्रेकरमा चारको विरुद्ध पाँच गोलले पराजित गर्दै फाइनलमा पुग्न सफल बनेको थियो ।

शनिवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ७ लाई सडनडेथमा शून्य विरुद्ध एक गोलको अन्तरले पराजित गर्दै वडा नं ३ फाइनलमा प्रवेश गरेको थियो । उपाधिका लागि मङ्गलवार प्रतिस्पर्धा हुनेछ ।

वराहक्षेत्र ७ देबिघाट स्थित बसन्तऋतृ माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलको पहिलो हाफमा वडा नं १ ले अग्रता  लिएको थियो । खलेको २७ मिनेटमा २७  जर्सी नं १८ का टिम क्याटेन दिवस सुब्बाले गोल गरेका थिए । पहिलो हाफमा एक गोलले पछि परेको वडा नं २ दोस्रो हाफमा खेलमा फर्किएको थियो । खेलको ४६ मिनेटमा उपहार गोल मार्फत वडा नं २ ले बराबरी गर्न सफल भएको थियो । वडा नं १ का अभिसेक श्रेष्ठले आफ्नै पोष्टमा गोल गरेका थिए ।

खेलको निर्धारित ३५-३५ मिनेटमा दुवै टिमले एक एक गोल र थपिएको साढे सात-साढे सात मिनेटमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं १ का गोलरक्षक  हुकुमबहादुर मगर म्यान अफ द म्याच घोषित भए । उनले नगद दुई हजार एक सय सहित ट्रफी हात पारेका थिए ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता ३ पटक विजेता हुने टोलीले चाँदीको सुन्दर ट्रफि आफ्नो स्वामित्वमा पार्नेछ । प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार, उपविजेताले १ लाख १ हजार, तेस्रो हुने टिमले ५० हजार र चौथो हुने टिमले २५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेताले चाँदीको सुन्दर ट्रफी प्राप्त गर्नेछ । अर्को सिजनको लिग सुरु भएको १ हप्ता अगाडि उक्त ट्रफि आयोजनलाई फिर्ता गर्नुपर्ने र रनिङ्ग शिल्ड प्रतियोगिता भएकाले ३ पटक विजेता भए मात्र उक्त ट्रफी विजेताको स्वामित्वमा हुने वराहक्षेत्र नगरपालिका खेलकुद नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत तेस्रो र चौथो टिम छनोटका लागि सोमवार वडा नं २ र वडा नं ७ बिच प्रतिस्पर्धा हुनेछ ।