धरान : पिण्डेश्वर विद्यापीठमा चालु शैक्षिक सत्र देखी १ वर्षे बीएड कक्षा सञ्चालन हुने भएको छ । धरान स्थित विद्यापीठलाई नेपाल संस्कृत विश्वविद्यालयले चालु शैक्षिक वर्ष २०८०/८१ देखि वीएड कक्षा सञ्चालनको स्वीकृति दिएको विद्यापीठका प्राचार्य काशीनाथ पौडेलले जानकारी दिए ।
बीएड कार्यक्रम सञ्चालनको लागि विद्यापीठले उपप्राध्यापक डा. महानन्द तिम्सिनालाई कार्यक्रम संयोजक नियुक्त गरेको विद्यापीठले जनाएको छ । वीएड कक्षा असोज २५ गते देखी सञ्चालन गर्न विद्यापीठले भर्ना खुलेको सूचना समेत जारी गरेको छ ।
कार्यक्रम संयोजक डा. तिम्सिनाका अनुसार विद्यापीठमा अङ्ग्रेजी, नेपाली, संस्कृत, सामाजिक गरी चार वटा अतिरिक्त विषयमा बीएड कक्षा सञ्चालन हुनेछ । बीएडमा भर्ना हुन विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट र चारित्रिक पत्रको प्रतिलिपि, सक्कल माइग्रेसन, पासपोर्ट साइजको फोटो ४ प्रति र शुल्क बुझाउनु पर्नेछ ।
विद्यापीठले बीएडका लागि कुल २३ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरेको छ । उक्त शुल्क विद्यार्थीले भर्ना हुँदा पहिलो किस्ता १५ हजार रुपैयाँ बुझाउनु पर्नेछ । दोस्रो किस्ता परीक्षा शुल्क सहित ८ हजार ५०० रुपैयाँ बुझाउनु पर्नेछ ।
पिण्डेश्वर विद्यापीठलाई वीएड कक्षा सञ्चालन गर्न विश्वविद्यालय पदाधिकारीको बैठकले आगामी प्राज्ञिक परिषद् बैठकबाट अनुमोदन हुने गरी तत्काल कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो ।
पिण्डेश्वर विद्यापीठमा एक वर्षे शिक्षा शास्त्री कार्यक्रम सञ्चालन गर्न स्वतन्त्र विद्यार्थी युनियन लगायत विभिन्न विद्यार्थी सङ्गठनहरूले आन्दोलन गरेका थिए । शिक्षा शास्त्री कार्यक्रम सञ्चालनको माग लिएर विगत १५ वर्ष देखी सङ्घर्षरत विद्यापीठलाई यसपालि अनुमति दिइएको हो ।
प्राचार्य पौडेलका अनुसार योग्यता पुगेका इच्छुक विद्यार्थीहरूलाई असोज १७ गते सम्ममा विद्यापीठ प्रशासनमा सम्पर्क गरी भर्नाका लागि विद्यापीठले सार्वजनिक सूचना जारी गरेको बताए ।
उनका अनुसार वीएडको पाठ्यक्रममा फाउण्डेशन अफ एजुकेशन, साइकोलोजी, टिचिङ प्राक्टिस अनिवार्य विषयहरू रहेका छन् । जुनसुकै विषयबाट स्नातक उत्तीर्ण गरे पनि सामाजिक शिक्षा विषयमा भर्ना लिन सकिने भर्ना सूचनामा जनाइएको छ ।