धरान : धरानमा केन्द्रीय कार्यालय रहेका मितेरी डेभलपमेन्ट बैङ्कको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज (शनिवार) बैङ्कले धरानमा रहेको सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले यसअघि सञ्चालक समितिबाट घोषित ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

उक्त साधारण सभामा सर्वसाधारणका तर्फबाट पूर्व सञ्चालकसमेत रहेका ललित अग्रवाललाई सम्मानित गरेको थियो । बैङ्कका अध्यक्ष किशन मास्के र सीइओ तथा कम्पनी सचिव तुलसी प्रसाद वस्तीले सम्मान-पत्र र खदा लगाएर सम्मान गरे ।

बैङ्कले साधारण सभाको अजेण्डामा छलफल तथा निर्माणार्थ निर्धातिर विषयहरूसमेत हुबहु सर्वसम्मतले पारित गरेको छ ।

अन्य बैङ्क तथा वित्तीय संस्थामा गाभिने वा गाभ्ने (मर्जरमा जाने) विषयलाई समेत प्राथमिकतामा राखेको छ । सम्भावित मर्जरका सबै काम गर्ने अख्तियारी सञ्चालक समितिलाई सभाले प्रदान गर्ने अजेण्डा समेत पारित भएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको र लेखा परीक्षकको प्रतिवेदनसहित सो आर्थिक वर्षको असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण पारित गर्ने लगायतका अजेण्डा समेत पारित भयो ।

Miteri BANK AGM