धरान : धरान खेलकुद मञ्चले खेल क्षेत्रका स्टार खेलाडीहरूलाई उनीहरूको खेल प्रतिभा, उपलब्धि र योगदानको आधारमा यसपालि देखी नगद सहित सम्मानजनक अवार्ड प्रदान गर्ने भएको छ ।

खेल क्षेत्रमा लामो समय बिताएर प्रशिक्षकको भूमिकामा रहेकाहरूलाई पनि सम्मान गरिने बुधवार आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष किशोर राईले जानकारी दिएका हुन । अवार्ड वितरण तथा सम्मान समारोह जेठ १८ गते शुक्रवार धरान किचनमा हुनेछ।

समारोहमा धरानका लिजेण्ड खेलाडीलाई प्रदान गरिने ‘धरान स्पोर्टस् लाइफ टाइम एचिभमेन्ट मेल अवार्ड’ राजेशमान श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

समारोहमा ‘धरान स्पोर्टस् लाइफ टाइम एचिभमेन्ट फिमेल अवार्ड’ गीता थापा मगरलाई प्रदान गरिने भएको छ । अवार्ड सहित उनीहरूलाई ११/११ हजार रुपैयाँ नगद प्रदान गरिने छ ।

राजेश एवं गीता धरानलाई खेलकुदको कार्यक्षेत्र बनाई टेबुल टेनिस विधामा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगीताहरुमा सहभागी भएका थिए । सक्रिय खेल जीवनपछि उनीहरूले टेबुल टेनिस प्रशिक्षकको रूपमा लामो समय योगदान पुर्‍याएको पत्रकार सम्मेलनमा बताइएको छ ।

समारोहमा हाल सक्रिय खेल जीवनमा रहेका खेलाडीहरू मध्ये २ जनालाई २५/२५ हजार रुपैयाँ सहित ‘बेस्ट प्लेयर अफ द इयर मेल अवार्ड’ र ‘बेस्ट प्लेयर अफ द इयर फिमेल मेल अवार्ड’ प्रदान गरिने छ ।

उक्त अवार्डको लागि विभिन्न खेल विधाबाट ६ जनाको नाम मनोनयनमा परेको छ । कुल १४ जना मध्येबाट ६ जना मनोनयनमा परेका हुन । अवार्डका लागि गठित छनौट समितिका सदस्य सुधीर सिंह लिम्बुका अनुसार पहिलो चरणमा ६ जना फिमेल र ८ जना मेल खेलाडीको नाम मनोनयनमा थियो ।

दोस्रो चरणको मनोनयनमा परेका ६ जना मध्येबाट २ जनालाई शुक्रवार हुने अवार्ड वितरण समारोहमा ‘बेस्ट प्लेयर अफ द इयर मेल अवार्ड’ र ‘बेस्ट प्लेयर अफ द इयर फिमेल मेल अवार्ड’ प्रदान गरिने उनले बताए ।

उक्त अवार्डको लागि स्टार खेलाडी चयन गर्न खेलकुद मञ्चले पूर्व अध्यक्ष राजेशमान श्रेष्ठको संयोजकत्वमा विभिन्न खेल विधाका अगुवाहरू सहितको छनौट समिति गठन गरेको अध्यक्ष राईले बताए । सोही समितिले १४ जना मध्ये ६ जनालाई अवार्डको लागि सम्भावित दाबेदारको मनोनयनमा राखेको हो ।

अध्यक्ष राईले बेस्ट प्लेयर अफ द इयर अवार्ड’का लागि छनौट समितिले मापदण्ड निर्धारण गरी योग्य खेलाडीहरू मनोनयन गरेको बताउँदै भने ‘उनीहरू मध्ये २ जनालाई अवार्ड प्रदान गर्ने निर्णय गर्न समितिलाई जिम्मेवारी दिएका छौँ ।’

सोही अवसरमा सक्रिय खेल जीवनपछि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएको प्रशिक्षकहरूलाई पनि सम्मानित गरिने उनले बताए । अध्यक्ष राईले भने ‘अवार्ड वितरण समारोह खेलाडीहरू, खेलप्रमेमीहरु, जनप्रतिनिधिहरूको मेलाको रूपमा आयोजना गरिने छ ।’

खेलाडीलाई सम्मान गर्ने परम्पराको सुरुआतको रूपमा यसलाई धरानको खेलकुद इतिहासमा पहिलो दिन बनाउने मञ्चले तयारी गरेको उनको भनाई थियो ।

धरान खेलकुद मञ्चले खेलकुदको विकासका लागि धरान उपमहानगरपालिका, खेलकुद सम्बद्ध सङ्घ संस्थाहरूलाई समन्वय र सहकार्यमा खेल र खेलाडीलाई व्यावसायिक रूपमा अघि बढाउने अभियान सुरु गरेको अध्यक्ष राईले बताए ।

वरिष्ठ पत्रकार हर्ष सुब्बाले धरानको खेलकुद क्षेत्रमा मञ्चको अवार्ड वितरण कार्यक्रम खेलाडीहरूको सम्मानको सुरुआतको नयाँ माइलस्टोन भएको बताए ।

मञ्चका महासचिव विक्रम लिम्बुले मञ्चको भनाई सहितको प्रेस विज्ञप्ति जारी गर्दै अवार्ड वितरण धरानको खेलकुदको इतिहासमा नयाँ अध्यायको सुरुआत भएको बताए ।