धरान : लागुऔषध दुर्व्यसनी युवाहरूलाई साझा सुईबाट सङ्क्रमण हुने एचआइभी एड्सबाट सुरक्षित हुन प्रिएम्पोजर प्रोफिलेक्सी अनुशिक्षण प्रदान गरिएको छ ।परिवार नियोजन सङ्घ र जिल्ला स्वास्थ्य कार्यालय सुनसरीद्वारा आयोजित प्रेप कार्यक्रममा उनीहरूलाई सङ्क्रमितको जीवन बचाउन प्रयोग गरिने औषधि एआरभीका बारेमा पनि जानकारी दिइएको हो ।

एचआइभी सङ्क्रमण नभएका तर जोखिम भएकाहरूलाई एचआइभी सङ्क्रमणबाट जोगाउन एआरभी औषधीको विषयमा सरोकारवाला निकायहरू बिच अन्तरक्रिया भएको सङ्घले जनाएको छ ।

युवा विकास केन्द्र इटहरीमा भएको छलफल सङ्घकी सभापति निर्मला अधिकारीको अध्यक्षतामा भएको थियो । जिल्ला स्वास्थ्य प्रमुख सागर प्रसाईँ प्रमुख अतिथि थिए ।

उनले एचआइभी सङ्क्रमण जोखिममा रहेका व्यक्तिहरूलाई पहिले नै बच्न यो औषधीको प्रभावकारिता र उपलब्धता बारे बताएका थिए ।

सङ्घकी शाखा प्रबन्धक रानु राउतले एआरभी सेवाको उपलब्धताका बारेमा बताएकी थिइन । छलफलमा डा. मनिष अर्याल, परियोजना संयोजक रोहित कुमार उराँव, प्रदेश सुपरभाइजर रोमन राईले औषधिका बारेमा जानकारी दिए ।