विराटनगर : अटिजम भएका बालबालिकालाई दिनभर हेरचाह गर्न विराटनगर महानगरपालिकाले निःशुल्क सेवा केन्द्र सञ्चालन गरेको छ ।
स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवका अनुसार अहिले सम्मको तथ्याङ्क अनुसार विराटनगरमा कुल ५१ जना अटिजम भएका बालबालिका छन् ।
उनीहरूका लागि बिहान ९ देखि ३ बजेसम्म सेवा केन्द्र सञ्चालन हुनेछ । हाल केन्द्रमा ५ बालिका सहित २५ जना नियमित सेवा केन्द्र आउँछन् ।
केन्द्रमा उनीहरूका लागि ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिस सहित खेलौनाको समेत व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचार सहित सिकाई अध्ययन पनि गराइने प्रबन्ध गरिएको छ ।
सेवा केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिनेछ । केन्द्रमा उनीहरूको उपचारपछि अन्य विद्यालयमा भर्ना गरिने स्वास्थ्य महाशाखा प्रमुख डा. यादवले बताए ।
विराटनगर-४ दूध फारम दक्षिण सञ्चालनमा आएको केन्द्रको महानगरका मेयर नागेश कोइरालाले आज बुधवार उद्घाटन गरेका छन् । उनले भने ‘यो केन्द्र मेरो कार्यकालको एउटा ड्रिम प्रोजेक्ट हो ।’
विराटनगरमा अटिजम भएका बालबालिकाका लागि केही गर्नुपर्छ भन्ने भित्रैदेखि चाहेको कुरा बल्ल पूरा भएको बताउँदै उनले भने ‘अटिजम सेवा केन्द्रको छुट्टै भवन निर्माणको पनि योजना छ ।’
सेवा केन्द्र करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको हो । उद्घाटनको अवसरमा उपमेयर शिल्पा निराला कार्की, करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दीपक सापकोटा, निर्देशक योगेन्द्र गिरी, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा ४ का अध्यक्ष जितन थापा लगायत उपस्थित थिए ।
महानगरपालिकाले सेवा केन्द्र सञ्चालनमा चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेटबाट ३० लाख रुपैयाँको लागतमा अटिज्म सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।