धरान : त्रिभुवन विश्वविद्यालयले धरान स्थित केन्द्रीय प्रविधि क्याम्पसले दिने अनुदानमा यस वर्ष १ करोड ३३ लाख रुपैयाँ कटौती गरेको छ । क्याम्पसको खुद आम्दानी विद्यार्थी शुल्क भने झन्डै १ करोड बढ्ने अनुमान गरिएको छ ।

क्याम्पस सञ्चालक समितिको गत: कात्तिक १५ गते बसेको बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वास्तविक खर्च तथा २०८२/०८३ को प्रस्तावित बजेटमा नियमित केन्द्रीय निकासा घटेको उल्लेख छ ।

प्रस्तावित बजेट अनुसार त्रिविले क्याम्पसलाई आर्थिक वर्ष २०८१/०८२ मा केन्द्रीय कार्यालय नियमित अनुदान कुल ७ करोड, १४ लाख, १२०० हजार रुपैयाँ निकासा गरेको थियो । यस वर्ष २०८२/०८३ मा भने कुल ५ करोड, ८ लाख, ९२ हजार, ८४३ रुपैयाँ मात्र त्रिविले अनुदान छुट्टाएको छ ।

क्याम्पसको खुद आम्दानीमा विद्यार्थी शुल्कबाट हुने आय भने यसपालि झन्डै १ करोड रुपैयाँ बढ्ने अनुमान गरिएको छ । गत वर्ष विद्यार्थी आम्दानी कुल ४ करोड, ७५ लाख, ७४ हजार, ६६५ रुपैयाँ थियो । चालु वर्षमा उक्त आम्दानी ५ करोड ८९ हजार २८४ रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

त्रिविको अनुदानमा कटौती हुँदा गत: वर्षको भन्दा क्याम्पसको चालु आर्थिक वर्ष २०८२÷८३ को कुल बजेटमा आय तर्फ करिब १ करोड रुपैयाँ घटेको छ । गत वर्ष क्याम्पसको कुल आय ११ करोड, ८९ लाख, ८६ हजार, ६६५ रुपैयाँ थियो । अनुदानमा भएको कटौतीले चालु आर्थिक वर्षमा कुल आय १० करोड, ८९ लाख, ९२ हजार, ८४ रुपैयाँ रहने अनुमान गरिएको छ ।

चालु वर्षको बजेटमा क्याम्पसको शिक्षण बजेटमा तलबको रकम बढेको छ । अतिरिक्त शिक्षण र प्रशासन तलब एवं परीक्षा सञ्चालन रकम भने घटेको छ । शिक्षण तलबमा गत: वर्ष कुल ३ करोड, ६१ लाख, ५६ हजार, ५४५ रुपैयाँ खर्च भएको थियो । उक्त रकम बढेर चालु बजेटमा ३ करोड, ७३ लाख, ८३ हजार, खर्च हुने प्रस्ताव गरिएको छ ।

अतिरिक्त तलबमा बजेट घटेको छ । गत: वर्ष १६ लाख, ९३ हजार, २३८ रुपैयाँ खर्च भएकोमा चालु बजेटमा १२ लाख रुपैयाँ खर्च गरिने भएको छ ।

प्रशासन तर्फ अतिरिक्त खर्च गत वर्ष ४० लाख, ८३ हजार १७५ रुपैयाँ खर्च भएकोमा चालु बजेटमा ३२ लाख रुपैयाँ खर्चिने भएको छ । चालु बजेटमा परीक्षा सञ्चालन बजेटमा पनि कटौती गरिएको छ । गत वर्ष परीक्षा सञ्चालनमा १९ लाख, ४४ हजार, २७४ रुपैयाँ खर्च भएको थियो । चालु बजेटमा उक्त रकम घटाएर १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसै वर्ष चालु हुने क्याम्पसको प्रशासकीय भवन कोशी प्रदेश सरकारले निर्माण गर्न ठेक्का लगाई सकेको छ । प्रदेश सरकारबाटै निर्माण हुने भएकोले बजेटमा भवन निर्माणको रकम समावेश छैन ।

क्याम्पसको पुँजीगत खर्चमा अन्य निर्माणको बजेट घटाइएको छ । उक्त शीर्षकमा गत वर्ष २१ लाख, २५ हजार, ९५८ रुपैयाँ खर्च भएकोमा चालु बजेटमा १० लाख रुपैयाँ मात्र राखिएको छ । वैज्ञानिक तथा शैक्षिक उपकरणको बजेट भने बढेको छ । उक्त शीर्षकमा गत वर्ष ७ लाख, ८९ हजार, १९ रुपैयाँ खर्च गरिएको थियो । चालु बजेटमा उक्त रकम वृद्धि गरी २५ लाख रुपैयाँ पुर्‍याएको  छ ।

क्याम्पस प्रमुख प्राध्यापक वसन्तकुमार राईका अनुसार त्रिभुवन विश्वविद्यालयले दिने अनुदान शिक्षण तलबमा खर्च हुन्छ । क्याम्पसको शैक्षिक कार्यक्रममा भएको दरबन्दीका शिक्षक÷प्राध्यापकको तलब, सञ्चय कोष अनुदान तथा उपादान निवृत्तिभरणमा खर्च हुने अनुदानको रकममा कटौती हुँदा शिक्षण कार्यक्रममा प्रभाव पर्ने उनले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको लागि क्याम्पसले माग गरेको केन्द्रीय अनुदान रकम भन्दा यसपालि कुल १ करोड ५४ लाख रुपया कटौती गरेको हो । त्रिविको बजेट कटौतीले शिक्षण कार्यक्रममा मा आन्तरिक श्रोतको भार बढ्दा क्याम्पस सञ्चालनमा आर्थिक कठिनाइ आइपर्ने उनले बताए ।

केन्द्रीय प्रविधि क्याम्पस २०६९ सालमा त्रिविको नीति अनुसार स्वायत्तता गएको क्याम्पस हो । स्वायत्ततामा जाने आङ्गिक क्याम्पसहरू मध्ये केन्द्रीय प्रविधि क्याम्पस विकास निर्माण र व्यवस्थापनमा पहिलो श्रेणी रहेको छ ।

तर त्रिविले स्वायत्ततामा जाँदा गरेका स्वायत्तता सम्बन्धी सहमतिहरू भने पुरा गरेको छैन । नीतिगत कुरामा हस्तक्षेप र केन्द्रीय नियमित अनुदानमा कटौती गर्दै आएकाले क्याम्पसले कठिनाइ व्यहोर्नु परिरहेको छ ।

क्याम्पसको स्ववियुले पनि समस्याहरू समाधान गर्न क्याम्पस प्रशासनले स्वायत्तताको आधारमा स्वनिर्णय लिने वा त्रिविको निर्देशनमा चल्ने स्पष्ट गर्नु पर्ने सवाल उठाउन थालेको छ ।