इटहरी : इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटेड इटहरी शाखामा पुगेर पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका उनलाई पक्राउ गरिएको हो । गत सोमबार पक्राउ परेका पौडेललाई म्याद थप गरेर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । 

नागरिक बचाउ अभियानका केही प्रतिनिधि सहित बैक पुगेका उनलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । नागरिक बचाउ अभियानले लामो समयदेखि बैङ्कको ऋण मिनाहा देखि बैङ्क तथा वित्तीय संस्थाको विरुद्धमा अभियान चलाउँदै आएको छ । 

एनआइसी एसियाबाट ऋण लिएका पौडेलको हकमा भने बैङ्कले कुनै पनि ताकेता गरेको वा धितो लिलामीको प्रक्रिया अगाडी बढाएको अवस्था छैन । ऋणमा कुनै समस्या नभए पनि सापटी पैसा उठाउन बैङ्कलाई प्रभावित पार्ने हिसाबमा उनी प्रस्तुत भएका हुन् । 

बैङ्कबाट ऋण लिएर पौडेलले इटहरीका गंगाचरण शाहलाई सापटी दिएका थिए । सापटी दिएको लामो समय बितिसक्दा समेत पैसा फिर्ता नभएपछि पौडेल समस्यामा पर्दै गएका हुन् । पौडेलका नातामा सालो अशोक अधिकारीले गंगाचरण सँग सम्पर्क गराएका थिए । मदिरा उद्योग सञ्चालनको लागि पैसा अपुग भएको भन्दै गंगाचरणले सापटी मागेको बताइएको छ । त्यसको मध्यस्थता गर्ने र पौडेललाई विश्वासमा लिने काम अशोकले गरेका हुन् । 

गंगाचरण शाहले पौडेलको सापटी रकम बराबरको चेक दिएका छन् । उनले गंगाचरणलाई चेक अनादरको मुद्दा समेत हालेका छन् । यस बिचमा एनआइसी एसिया बैङ्कले भने गंगाचरणको जग्गा लिलाम गरेर सेटलमेन्टको प्रोसेस अगाडी बढाएको छ । काठमाण्डौका एक व्यवसायीले गंगाचरणको जग्गा लिनेगरि प्रक्रिया अगाडी बढेको हो । 

गंगाचरणले सापट पैसा नदिएको र बैङ्कले उनको सम्पत्ति लिलाम गरेको अवस्थामा आफ्नो पैसा समेत पाउनुपर्ने पौडेलको माग छ । सोही माग राख्ने क्रममा पौडेलले देखाएको धम्कीपूर्ण कार्यले उनी हाल हिरासत पुगेका हुन् । 

गंगाचरणलाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ६ वटा मुद्दामा फरार रहेका उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पुर्‍याइएको छ । बैङ्किङ कसुर, ठगी लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।  

दोस्रो व्यक्तिको व्यक्तिगत लेनदेनमा बैङ्क सामेल नहुने बताइएको छ । बिहीबार वक्तव्य जारी गर्दै बैङ्कका कर्मचारीमाथि भएको अभद्र व्यवहार प्रति ध्यानाकर्षण भएको बताएको छ । कुनै पनि बहानामा यस्ता अभद्र व्यवहार सह्य नहुने र यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । इटहरीमा भएको सो घटनाले समग्र बैङ्किङ क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको बताइएको छ ।

letter