• रश्मि प्रधान

धरान : नेशनल एकेडेमी कलेजका कार्यकारी प्रमुख देवकुमार सुब्बाले एक समारोहका बिच एकेडेमीको खेलकुद सप्ताह तथा क्याम्प फायर २०७९ को उद्घाटन गरेका छन् । नेशनल एकेडेमी प्रदेश १ कै पहिलो र एक मात्र आइएसओ मान्यता प्राप्त शिक्षण संस्था हो । धरान-२ सिंहदेवी चौक स्थित एकेडेमीको भवनमा सोमवार भएको समारोहका साथ खेलकुद सप्ताह सुरु भएको छ । 

सोमवार देखी नै क्याम्प फायर २०७९ पनि सुरु भएको छ । बिहान खेलकुद र दिउँसो क्याम्प फायर सम्पन्न गर्ने गरी कार्यक्रम तय गरिएको हो । एकेडेमीले पहिलो दिन फेशन एण्ड मोडलिङको प्रयोगात्मक अभिमुखीकरण गरेको छ ।

एकेडेमीका फेसन एण्ड मोडलिङका नियमित स्रोत व्यक्ति मिस नेशनल आइडल २०१८ का विजेता मेरिना तुम्सा लिम्बुले विद्यार्थीहरूलाई फेसन एण्ड मोडलिङ सम्बन्धी प्रयोगात्मक अभिमुखीकरण गराएकी थिइन् ।

साताव्यापी खेलकुदमा इलेमेन्टरी अप्पर कक्षा ५ देखि ८, सेकण्डरी लेभल कक्षा ९ देखि १२ तर्फ भलिबल, फुटबल, चेस, ब्याडमिन्टन, टेबल टेनिस, एथलेटिक्स खेलहरू रहेको एकेडेमीका प्रिन्सिपल श्रीसिसा राईले बताए ।

उनका अनुसार पहिलो दिन बुद्धिचाल प्रतियोगिता भएको थियो । इलेमेन्टरी लोवर कक्षा १ देखि ४ र मन्टेश्वरी कक्षा पिजी देखि युकेजी सम्मका बालबालिकाहरू बिच चम्चा दौड, चकलेट दौड र भ्यागुता दौड प्रतिस्पर्धा भयो । यो साताभर प्रत्येक दिन फरक फरक खेलहरूको प्रतिस्पर्धा गराइने उनले बताए ।

क्याम्प फायरमा जाडोको मौसम अनुसार आगो ताप्ने र विभिन्न सिर्जनात्मक क्रियाकलापहरूमा विद्यार्थीहरूलाई सहभागी गराउने गरिएको छ । माघ १० गते उसुको प्रयोगात्मक अभिमुखीकरण गराइनेछ । वक्तृत्वकला, गायन, नृत्य, चित्रकला, अभिनय आदीका प्रयोग र अभिमुखीकरण क्याम्प फायरमा हुनेछन् । सम्बन्धित विषय क्षेत्रका श्रोत व्यक्तिहरूबाट विद्यार्थीलाई प्रयोगात्मक अभिमुखीकरण गराइनेछ ।

क्याम्प फायरकै क्रममा यसपालि सरस्वती पूजा समेत फरक ढङ्गले आयोजना गरिने प्रिन्सिपल राईले बताए । उनका अनुसार सरस्वती पूजाका अवसरमा नयाँ विद्यार्थीहरूलाई भर्ना शुल्कमा पूर्ण छुट गरिएको छ।

national-sports-week-2079