विराटनगर : दुवै कान कम नसुन्ने कमजोरीको उपचारका लागि खर्च जुटाउन कक्षा ५ का छात्र विराटनगर-२ का सम्राट् दासले आज सरस्वती पूजाका दिन नयाँ उपाय निकाले ।
पढाइमा तेज, उनको मनपर्ने विषय 'म्याथ' भए पनि चित्रहरू पनि बनाउँछन् । उनको चित्रकारिता भने समाजमा समाजमा राम्रो काम गर्ने मानिसको चित्र बनाउन रुचिमा केन्द्रित छ ।
सरस्वती पूजाको दिन बुधवार साथीहरू भन्दा अगावै स्कुल पुगेर स्टल बनाएर आफूले बनाएका तस्बिर हार मिलाएर राखे । तस्बिरमा मूल्य पनि राखेका थिए ।
उनको तस्बिरहरूमा सबैभन्दा अगाडि कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको तस्बिर थियो । त्यसको मूल्य उनले ९०० रुपैयाँ राखेका थिए । हारमा अर्को तस्बिर काठमाडौँका मेयर बालेन साहको थियो ।
सम्राट्ले बनाएका तस्बिर सरस्वती पूजा समारोहमा भाग लिन आएका अभिभावकहरूले खरिद गरिदिएका छन् । आएको पैसा उपचारमा खर्च गर्ने भनेकाले पनि अभिभावकहरू प्रभावित भएका थिए ।
उनीसँगै आमा कल्पना दास र उनका साथीहरू पनि उभिएका थिए । उनी विराटनगरको लिलिपुट स्कुलमा कक्षा ५ मा पढ्छन् । कल्पनाले भनिन्, ‘मुख्यमन्त्रीले बालबालिकाको निःशुल्क उपचार गराउन सुरु गरेको समाचार उनले पढेका रहेछन् । एक दिन आफन्तको घरमा उहाँ आएको बेला भेटघाट पनि गरेका थिए । त्यही भएर उहाँको तस्बिर बनाउने योजना मलाइ सुनाए ।’
मेयर बालेन र मुख्यमन्त्री कार्कीको तस्बिर घण्टौँ मेहनत गरेर बनाएको कल्पनाले सुनाइन । सम्राट्ले चित्रकारिता युटुव हरेर बनाउन जानेका छन् । विद्यालयका प्राचार्य चिरञ्जीवी तिम्सिनाले सम्राट्को क्षमतालाई कदर गर्दै विद्यालय प्रशासनले तस्बिरहरू प्रदर्शनीमा राखिदिएको बताए ।
ऐच्छिक अङ्ग्रेजीमा स्नातकोत्तर सम्राटकी आमा कल्पना पहिले शिक्षिका थिइन तर छोरा सम्राट् फरक क्षमताको भएकै कारण उनकै लागि अहिले गृहिणी मात्र छिन् ।