गाईघाट : त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटद्वारा आयोजित दोस्रो कोशी प्रदेश महोत्सवको मुख्यमन्त्री केदार कार्कीले मङ्गलवार एक समारोहका बिच उद्घाटन गरेका छन् ।

उक्त अवसरमा मुख्यमन्त्री कार्कीले उत्पादन भनेको समान मात्रै नभई जनशक्तिलाई दक्ष बनाउने अभियान पनि भएको बताए । उनले भने ‘बाजा बजाउन जान्ने मान्छे भयो भने बाजा चाहिन्छ । त्यसको लागि पहिरन चाहिन्छ, मान्छे दक्ष भएन भने कसरी त्यसको उत्पादन कहाँ हुन्छ? त्यस कारण हामीले मानवीय विकासलाई अगाडि बढाएका छौँ ।’

व्यवसायी र सरकार साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको उल्लेख गर्दै  दिगो विकासका लागि कोशी प्रदेश सरकारले सुरु गरेको मानवीय विकासको काममा व्यवसायीको सहयोगको अपेक्षा प्रकट गरे ।

मुख्यमन्त्री कार्कीले आफ्नो स्वार्थको काम नहुँदा विकाशै भएन भनेर एकथरिले भ्रम फैलाइरहेको बताए । उनले भने ‘व्यक्तिगत स्वार्थमा विकासको परिभाषा हुने गरेकोले स्वार्थको काम नहुँदा भ्रम फैलाउने काम भएको हो ।’

उद्योग वाणिज्य सङ्घ अध्यक्ष रमेश विश्वकर्माले भाषा कला र संस्कृतिको उत्थान, बढाउ व्यापार कृषि र पर्यटन’ भन्ने नाराका साथ १० दिनसम्म चल्ने महोत्सवमा स्टल नि:सुल्क उपलब्ध गराएर स्थानीय उत्पादनलाई बढवा दिएको बताए । 

कोरोनापछि थलिएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।