धरान : धरान उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले ‘खेलकुद शहर’का रूपमा स्थापित धरानको छविलाई जोगाइ राख्न सरकारको पहल मात्र पर्याप्त नहुने स्थानीय समुदाय, परिवार, विद्यालय र खेल संस्थाहरूको सामूहिक लगानी र सहभागिता अपरिहार्य रहेको बताएका छन् ।
स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको स्मृतिमा सञ्चालित चौथो यु–१८ धरान मेघा रेवाहाङ मेमो रियल बास्केटबल प्रतियोगिता मङ्गलवार भएको उद्घाटन समारोहमा उनले उक्त कुरा बताएका हुन ।
कार्यवाहक प्रमुख बेघाले भने ‘धरानलाई प्रायः ‘खेलकुद शहर’ भनेर चिनिए पनि यसको वास्तविक आधार स्थानीय स्तरमै विकसित खेल संस्कार, अभिभावकको साथ र समुदायको समर्पण रहेको छ ।’ खेलकुद विकास दीर्घकालीन प्रक्रिया भएकाले धरानका समुदायको लगानीको निरन्तरता यसको सबैभन्दा ठुलो शक्ति भएको उनको भनाई थियो ।
खेलकुद विकास समिति गठन गरौँ
समारोहमा धरान–१५ का वडाध्यक्ष नरेश इवारमले धरानलाई खेलकुदको हब बनाउने लक्ष्य सहित उपमहानगरपालिकाले खेलकुद विकास समिति गठन गर्न जरुरी भएको बताए ।
उनले नगर प्रमुख हर्क साम्पाङको चार वर्षसम्म खेलकुद विकास समिति गठन नगरेर धरानमा खेलकुदको संस्थागत विकासलाई अवरुद्ध गरेको आरोप लगाए । धरानलाई खेलकुदको शहर भनिन्छ तर खेलकुदमा छुट्टिनै १ करोड बजेट प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताए ।
प्रतियोगिता रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल सङ्घ र धरान मेघा हिमालयन कलेजको संयुक्त आयोजनामा भइरहेको हो । प्रतिष्ठानका अध्यक्ष रेवती रमण राईले रेवाहाङको अधुरो सपना पूरा गर्न र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको बताए ।
चौथो अन्डर–१८ धरान मेघा रेवाहाङ मेमो रियल बास्केटबल प्रतियोगिताका उद्घाटन खेलमा हिमशिखर बोर्डिङ स्कुल र पूर्वाञ्चल बोर्डिङ स्कुल, तरहरा बिच प्रतिस्पर्धा सुरु भएको थियो ।
प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरू सहभागी छन्। सहभागी टिमहरूमा हिमशिखर बोर्डिङ स्कुल, पूर्वाञ्चल स्कुल, सुष्मा कलेज, सुकुना कलेज, लोटस स्कुल, नास्ट कलेज, धरान आदर्श स्कुल, धरान मेघा कलेज ‘ए’ र ‘बी’, डिपो स्कुल, होलील्याण्ड इन्टरनेशनल स्कुल, क्यारेमल उच्च माध्यमिक स्कुल र विद्या भूषण स्कुल रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।