धरान : गाजापट्टीमा प्रवेश गरी इजरायली स्थल सेनाले हमला गर्न थालेको दोस्रो दिन बुधवार जबालिया शरणार्थी शिविरमा दोस्रो पटक भएको हवाई बमबारीमा १२० जनाको मृत्यु भएको छ । भीषण विस्फोटमा मृत्यु हुने अधिकांश शिविरमा शरण लिएका अधिकांश महिला, बालबालिका छन् ।

उक्त शिविर गाजामा चलिरहेको इजरायल-हमास युद्धको विनाशबाट बाँचेका प्यालेष्टाइनी सर्वसाधारण आश्रय लिएर बसेका छन् । उक्त शिविरमा मङ्गलवार पनि इजरायली हवाई सेनाले बम खसालेको थियो । गाजामा इजरायलले युद्ध सुरु भएयता ११ हजार हवाई हमला गरेको जनाएको छ ।

हिजो मङ्गलवार देखी गाजामा इजरायलले सुरु गरेको स्थल सेना हमलामा १५ जना इजरायली सेनाको मृत्यु भएको छ । स्थल युद्ध इजरायलको लागि कठिन चुनौती भएको उल्लेख गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले भनेका छन् ‘हामी कठिन लडाई लड्दैछौं, यसमा महत्त्वपूर्ण सफलता मिले पनि पीडादायक क्षति पनि व्यहोर्नु परेको छ ।’

तिन साता अघि युद्ध सुरु भएयता बन्द गरिएको रफाह क्रसिंङ नाका सर्व साधारणको लागि बुधवार पहिलो पटक खुला गरिएको छ । नाका खुला भए लगत्तै ८८ घाइते र ५०० विदेशी नागरिकलाई गाजाबाट मिश्र जान दिइएको छ ।

रफाह नाकाबाट १० किलोमिटर नजिक मिश्रमा युद्धमा घाइते भएकाहरूका लागि फिल्ड अस्पताल बनेर तयार भएको छ । घाइते प्यालिष्टाइनहरुलाई उपचारको लागि यही अस्पतालमा ल्याउन निर्माण गरिएको हो ।